दफा ३७क
राजस्व प्रहरीको रूपमा खटाउन सक्नेः
(१) दफा ३७ मा उल्लेख भए बमोजिम राजस्व प्रहरीको छुट्टै व्यवस्था नभएसम्मका लागि नेपाल सरकारले विभाग अन्तर्गत रहने गरी आवश्यकता अनुसार सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरीलाई राजस्व प्रहरीको रूपमा काम गर्न खटाउन सक्नेछ ।

(२) राजस्व प्रहरीले महानिर्देशकको प्रत्यक्ष मातहत र नियन्त्रणमा रही काम गर्नु पर्नेछ ।

(३) कसैले राजस्व चुहावट गरेको वा गर्न लागेको मनासिब कारण भएमा महानिर्देशक वा सम्बन्धित अनुसन्धान अधिकृतको आदेशमा राजस्व प्रहरीले त्यस्तो कार्य गर्नबाट निजलाई रोक्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम रोक्न खोज्दा निजले हुलहुज्जत वा जोरजुलुम गरेमा राजस्व प्रहरीले निजलाई त्यसो नगर्न सम्झाउनु बुझाउनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम सम्झाउँदा बुझाउँदा पनि निजले हुलहुज्जत वा जोरजुलुम गरेमा राजस्व प्रहरीले निजलाई पक्राउ गर्न सक्नेछ ।

(६) उपदफा (५) बमोजिम पक्राउ गर्न खोज्दा निजले जोरजुलुम गरेमा वा भाग्न उम्कन खोजेमा वा तत्काल पक्राउ गर्न नसकिने अवस्था भएमा आफ्नो रक्षा र कर्तव्यको पालनाको निम्ति महानिर्देशक सम्बन्धित अनुसन्धान अधिकृतको आदेशले घटनास्थलमा खटिएका राजस्व प्रहरीले त्यस्तो घटना रोक्न पहिले हवाई फायर गर्न र त्यसो गर्दा पनि स्थिति नियन्त्रण नभए वा हुलहुज्जत गर्ने व्यक्तिसँग समेत हतियार भएमा कम क्षति हुने गरी गोली समेत चलाउन सक्नेछ ।

(७) कुनै ढुवानी वा सवारी साधनबाट राजस्व छलिएको मालवस्तु ढुवानी गर्दै गरेको शंका भएमा राजस्व प्रहरीले त्यस्तो सवारी साधन समेत रोक्न वा रोक्न लगाउन आदेश दिन सक्नेछ । त्यस्तो आदेश नमानी हुलहुज्जत वा जोरजुलुम गरी त्यस्तो सवारी साधन नजँचाई भगाउने प्रयत्न गरेमा वा भगाएमा महानिर्देशक वा सम्बन्धित अनुसन्धान अधिकृतको आदेश लिई राजस्व प्रहरीले त्यस्तो सवारी साधनको पाङ्ग्रामा कम क्षति हुने गरी गोली चलाउन सक्नेछ ।

(८) उपदफा (६) वा (७) बमोजिम गोली चलाउनु परेको अवस्थामा सो कुराको जानकारी छिटो साधनद्वारा अनुसन्धान अधिकृतले आदेश दिएकोमा महानिर्देशक तथा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई र महानिर्देशकले आदेश दिएकोमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी तथा प्रधानमन्त्री कार्यालय दिनु पर्नेछ ।